बुढासुब्बा

धरान बिजयपुरको बूढासुब्बा स्थान किराँती धर्मावलम्बीहरुका लागि महत्वपूर्ण मन्दिर मानिन्छ । बूढासुब्बा मन्दिरभित्र दुईवटा माटाका ढिस्का उठाइएका छन् जसलाई बूढासुब्बा र बूढी सुब्वेनीका रुपमा पूजा आजा गर्ने चलन छ । दन्तकाली देखि केही पूर्व सेउती खोलाको डिलमाथि रहेको उक्त स्थानमा टुप्पा नभएका बाँसहरु पाइन्छन् जसलाई बूढासुब्बाले गुलेली र मट्याङ्ग्राले हानेर टुप्पा भाचिदिएको भन्ने मान्यता राखिन्छ ।

बूढासुब्बा को थिए भन्ने कुरा हालसम्म स्पष्ट छैन । कसैकसैले यसलाई बुद्धिकर्ण राईको र कसैले बूढासुब्बाको समाधि मानेका छन् । तर यो स्थान के हो भन्ने स्पष्ट छैन । यहाँको पूराजी मगर जातका व्यक्ति भएकाले यसलाई मगर भारदारको समाधि पनि मान्ने गरिन्छ ।

बूढासुब्बा मन्दिरमा प्रत्येक शनिवारका दिन ठूलो भिडभाड हुने गर्दछ । उक्त दिन बूढासुब्बालाई कुखुराका भाले र सुँगुरको बलि दिने गरिन्छ । यस स्थानमा किराँत धर्मावलम्बी मात्र नभएर अन्य मानिसहरु समेत भाकल गर्ने र पशुवलि दिने गर्दछन् । बूढासुब्बालाई बेग्लै पर्यटकीयक्षेत्रका रुपमा नभएर सम्पूर्ण विजयपुरलाई नै पर्यटकको गन्तव्य स्थल बनाउन सकिन्छ । आन्तरिक र भारतीय पर्यटकका लागि यो स्थान आकर्शणको केन्द्रविन्दु बन्न सक्ने देखिन्छ ।

You can leave a response, or trackback from your own site.


Leave a Reply