सुुनसरी जिल्लाको धरान नगरपालिका वडा नं.–१४ विजयपुर डाँडाको मध्य भागमा दन्तकाली मन्दिर रहेको छ । मध्यकालतिर कालिकाका नामले जानिने उक्त देवीलाइ स्वस्थानी व्रतकथामा आधारित सतिदेवीको दाँत पतन भएको स्थान मानिन्छ । उक्त मन्दिरमा सतिदेवीका दाँतको प्रतिक स्वरुप एउटा कालो प्रस्तर राखी पूजाआजा गर्ने गरिएको छ ।
दन्तकालीको मन्दिर वि.सं. २०३५–३६ सालसम्म सामान्य प्रकारको थियो हाल भने त्यसपछि यस स्थानमा भब्य तले शैलीको मन्दिर बनाइएको छ ।
दन्तकाली क्षेत्रमा दसैको नौरथामा मेला लाग्दछ । त्यस समयमा धरान बजारका प्राय सबै मानिसहरु दन्तकालीमा पुग्ने गर्दछन् । यसबाहेक तीज र स्वस्थानी पूर्णिमाका अवशरमा पनि त्यहाँ मेला लाग्ने गर्दछ ।
बिजयपुरको दन्तकलीबाट धरानबजारको रमणीय दृश्य देख्न सकिन्छ । यसबाहेक मोरङ जिल्लाका केही भाग र उदयपुर, सप्तरी तथा सुनसरी जिल्लाका इनरुवा कोशी टप्पु आदि स्थान भने देख्न सकिन्छन् । तसर्थ दन्तकाली धार्मिक रुपमा मात्र नभएर सुन्दरताका दृष्टिले पनि निकै महत्वपूर्ण छ ।
दन्तकाली, बुढासुब्बा, पिण्डेश्वर, पञ्चकन्या र भताभङ्गे विजयपुरका रमणीय तथा भ्रमण गर्न योग्य स्थानहरु हुन् । यसबाहेक सम्पूर्ण विजयपुरनै पर्यटकीय दृष्टिले महत्वपूर्ण छ । आन्तरिक पर्यटनका दृष्टिले यो स्थान विशेष महत्वपूर्ण छ भने त्यहाँ सुविधाहरुको विस्तार गरी भारतीय पर्यटकहरुलाई समेत आकर्शण दिन सकिन्छ ।

