विजयपुरमा अवस्थित पिण्डेश्वर हिन्दू तीर्थयात्रीका लागि महत्वपूर्ण तीर्थस्थल मानिन्छ । हिमवत्खण्ड पुराणको रुद्राक्षारण्य र महात्म्य अनुसार देवता र दानवले समुद्रमन्थन गरी निकालेको अमृत र विषमध्ये अमृतलाई छाने पछी बाँकी रहेको छोक्रा पिण्ड वनाइ प्mयालेको स्थान पिण्डेश्वर हो ।
धरान नगरपालिका वडा नं. १४ मा पर्ने पिण्डेश्वरको स्थापना मध्यकालतिर भएको हो । आजभन्दा ६–७ सय वर्ष अगाडितिर विजयपूर राज्यको स्थापनाका साथ साथैयो मन्दिर पनि निर्माण गरिएको हुन सक्दछ । तर यस मन्दिरको वर्तमानको स्वरुप भने जीर्णाेद्धार र पुनर्निर्माणका क्रममा धेरै पछि मात्र बनेको हो
पिण्डेश्वर क्षेत्रमा पिण्डेश्वर मन्दिर, सिद्धी विनायक, बाघम्बर र चिताम्बरका मन्दिर, सरस्वती कुण्ड तथा अष्टभूजा देवीका मन्दिरहरु रहेका छन् । यहाँको सबैभन्दा पुरानो मूर्ति अष्टभूजाको मानिएको छ जुन मूर्ति चोरी भएपछि यहाँ अर्काेकेही पछि निर्मित अर्के अष्टभूजाको मूर्ति राखिएको छ ।
विजयपुर डाँडाको दक्षिणी खुट्किलामा अवस्थित पिण्डेश्वर मन्दिर क्षेत्रमा पिण्डेश्वर क्याम्पस पनि रहेको छ । यस स्थानबाट धरानको दक्षिणी र पूर्वी भागको दृश्यावलोकन गर्न सकिन्छ । श्रावण महिनामा यस मन्दिरमा बोलबमको ठूलो भिडभाड लाग्ने गर्दछ । मध्यकाल तिर किल्लाका रुपमा रहेको पिण्डेश्वर कालान्तरमा पूर्वकै ठूलो मठका रुपमा विकास भएको छ ।

